मोहन वैद्य ‘किरण’ फाइल तस्वीर
काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत)बीच एकता हुँदैछ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)र धमेन्द्र बास्तोला संयोजक रहेको नेकपा(बहुमत) मिलेर पार्टी एकता गर्न लागेका हुन् ।
यी दुई पार्टीबीचको एकताबारे जानकारी दिन आज शुक्रबार दुवै पार्टीले संयुक्त पत्रकार सम्मेलन गर्नेभएका छन् । नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलाका अनुसार काठमाडौंको घट्टेकुलोस्थित इच्छुक प्रतिष्ठानमा आज दुई पार्टीको आज दिउँसो १२ बजसंयुक्त पत्रकार सम्मेलन हुँदैछ ।
नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गरी बनेको नेकपा बहुमतको नेतृत्व धमेन्द्र बास्तोलाले गर्दै आउनुभएको छ । स–साना चिरामा विभाजित माओवादीधार पुनः एकता गर्दै सङ्गठित हुन थालेका छन् । आगामी वैशाख १८ गते यी दुई पार्टीबीच एकता गर्ने दुवै पार्टीको तयारी छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तात्कालीन नेकपा एकीकृत माओवादी विभाजन हुँदा यी सबै नेताहरू वैद्यको नेतृत्वको नेकपा–माओवादीमा आवद्ध थिए । वैद्य नेतृत्वको माओवादी विप्लवको नेतृत्वमा विभाजित हुँदा धमेन्द्र बास्तोला र हेमन्त प्रकाश वलीसहितका नेताहरू विप्लवसँगै गएका थिए । केही वर्षसँगै काम गरेका भए पनि गत वर्ष धमेन्द्र बास्तोलाले आफ्नै नेतृत्वमा नेकपा बहुमत गठन गर्नुभएको थियो ।
यी दुई पार्टीबीच एकता गर्ने कुरा त करिब करिब पक्का भयो नै तर, एकताका क्रममा अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा सहमति जुटेको छैन । पार्टी एकता गरेर अध्यक्ष मण्डल बनाउने अनौपचारिक सहमति भएको छ । तर, बास्तोलालाई अध्यक्ष मण्डलमा स्वीकार गर्न वैद्य नेतृत्वको माओवादीका नेताहरू तयार छैनन् । बास्तोलाभन्दा चन्द्रप्रकाश (सीपी) गजुरेल, हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देलगायतका नेताहरू वरिष्ठतम हुन् ।
पार्टी एकता गर्दा तत्काल मोहन वैद्य ‘किरण’ कै नेतृत्व स्वीकार गरेर अघिबढ्ने र यस विषयमा थप छलफल गर्दै जाने एक हालको सहमति जुटेको नेताहरुले बताएका छन् ।