सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्मा, फाइल तस्वीर
काठमाडौं — सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शान्ति प्रक्रियाका बाँकी कामलाई आगमी दुई वर्षमा पुरा गर्ने उल्लेख गरेको छ । सरकारले शान्ति प्रक्रियाका बाँकी काम २ वर्षभित्र पुरा गर्ने घोषणा गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले शान्ति प्रक्रियाका बाँकी काम २ वर्षभित्र पुरा गर्ने बताउनुभएको छ । तत्कालीन सरकार र नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौता अनुसार बाँकी रहेका काम तथा तराई मधेसलगायतका आन्दोलनका क्रममा सरकार र आन्दोलनकारीहरुबीच सहमति र सम्झौतालाई पनि कार्यान्वयन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारका नीति तथा कार्यक्रममा संसदमा विचाराधीन बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक यथाशीघ्र पारित गरी आयोग गठन गर्ने र आयोगलाई आवश्यक स्रोत–साधन र जनशक्ति उपलब्ध गराउने विषयहरु पनि समेटिएका छन् ।
‘शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम २ वर्षभित्र पूरा गर्ने’ कार्यक्रममा भनिएको छ, ‘द्वन्द्वपीडितहरूलाई क्षतिपूर्ति, पुनः स्थापना र परिपूरणको व्यवस्था गर्ने । देशका विभिन्न भागहरूमा भएका आन्दोलनको क्रममा लगाइएका मुद्दाहरूको पुनरावलोकन गर्ने । झुटा मुद्दाहरू खारेज गर्ने र राजनीतिक प्रकृतिका बन्दीहरूलाई रिहाइ गर्ने कार्यक्रममा छ । आन्दोलनका क्रममा घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिहरूलाई उपचार, रोजगारी, स्वरोजगारका अवसर र पुनर्स्थापनासम्बन्धी कार्य गर्ने ।’