फाइल तस्वीर
काठमाडौं – सत्तागठबन्धन दलहरुको बैठकले तय गरेको सरकारको न्यूनमत साझा कार्यक्रम सार्वजनिक गरिएको छ । दश दलीय सत्तागठबन्धनले १३ पृष्ठ लामो न्यूनमत साझा कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सार्वजनिक गरिएको उक्त कार्यक्रम राष्ट्रिय सहमतिकै कार्यक्रम भएको बताउनुभएको छ । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा बनेको र अघिल्लो गठबन्धनले बनाएको न्यूनमत साझा कार्यक्रमका राम्रा विषयलाई विकसित र परिमार्जन गरेर ल्याएको बताउनुभयो । कार्यक्रम सार्वजनिक गर्नेक्रममा प्रधानमन्त्रीले ‘यो राष्ट्रिय सहमतिको साझा न्यूनमत कार्यक्रम हो’— भन्नुभयो ।
यसबारे अध्ययन गरेका धेरैले अघिल्लाहरु भन्दा राम्रो आएको र इमान्दार कार्यान्वयन गर्ने हो भने अहिले देखिएका समस्या र असन्तुष्टिहरु सम्बोधन हुने बताएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।