काठमाडौं — मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले आगामी वैशाख १८ गते पार्टी एकता गर्ने भएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस पारेर दुई पार्टीले आगामी वैशाख १८ गते एकता गर्न लागेका हुन् ।

क्रान्तिकारी माओवादी वैद्य र नेकपा बहुमत बास्तोला नेतृत्वको वार्ता टोलीले आगामी शुक्रबार पत्रकार सम्मेलन गरेर यस विषयमा जानकारी दिइने क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले बताउनुभयो । वैद्य नेतृत्वको पार्टीबाट स्थायी समिति सदस्य सिपी गजुरेल, रामसिंह श्रीष हुनुहुन्छ । यस्तै बास्तोला नेतृत्वको पार्टीबाट प्रवक्ता हेमन्तप्रकाश ओली र उदयबहादुर चलाउने हुनुहुन्छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनमा हुने ‘पार्टी एकता यी दुवै पार्टीको भाव समेटिनेगरी पार्टीको नाम राखिने भएको बताइएको छ ।

पार्टी अध्यक्ष मण्डल बनाएर पार्टीको संयोजक वैद्यलाई बनाएर जाने समझदारी भएता पनि आलोपालो नेतृत्व गर्ने गरी दुई जनावीच अध्यक्ष मण्डल बनाइने भएको बताइएको छ । मोहनविक्रम सिंह नेतृत्वको नेकपा क्रान्तिकारी मसालसँग पनि एकता गर्ने भनिएको भएता पनि सहमति जुट्न नसक्दा सो एकता रोकिएको छ ।

२०६९ सालमा प्रचण्ड नेतृत्वको एकीकृत माओवादी विभाजन गरेर वैद्यले नेकपा–माओवादी गठन गरेका थिए । प्रचण्डबाट वैद्य छुट्टिएको तीन वर्षमा नेत्रविक्रम चन्द‘विप्लव’ले आफ्नै नेतृत्वमा नेकपा बनाएका थिए । विप्लवबाट पार्टी विभाजन गरेर बास्तोलाले छुट्टै पार्टी बनाएपछि अहिले वैद्यसँग एकता हुन लागेको हो ।

त्यसोतः यसबीचमा विप्लवले समेत वैद्यसँग पार्टी एकता गर्ने तयारी गरेका थिए । तर, बास्तोला नै वैद्यसँग पार्टी एकताको प्रक्रियामा अघि बढेपछि विप्लव टाढिएका हुन् । पछिल्लो समय विप्लव प्रचण्डसँग नजिकिँदै गएका छन् । यद्यपि पार्टी एकता गर्ने गरी कुनै ठोस छलफल भने भएको छैन ।