काठमाडौं — स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएका त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा यही चैत ३० गते बिहिबार चुनाव गर्न विद्यार्थी सङ्गठन सहमत भएका छन् । तालाबन्दी र अन्य विभिन्न कारणले चैत ५ गते मतदान हुन नसकेका क्याम्पसहरूमा ३० गते मतदान गर्ने गरी नेविसङ्घ, अखिल, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच सहमति भएको हो ।

चुनाव हुन बाँकी क्याम्पसमा नयाँ कार्यतालिका प्रकाशित गरी चैत ३० गते मतदान गर्ने विद्यार्थी सङ्गठनले सहमति गरेका हुन् । यसबीचमा पनि चुनाव विथोलिने र तालाबन्दी गर्ने काम भए प्रशासनको सहयोगमा ताल खोली निर्वाचन प्रक्रिया अघि बढाउने प्रतिबद्धतासमेत उनीहरूले जनाएका छन् ।

साथै चार सङ्गठनले विद्यार्थी भर्ना विवादका कारण चुनाव रोकिएका क्याम्पसमा छानबिन गर्न विश्वविद्यालयको केन्द्रीय अनुगमन समितिलाई अनुरोध गरेका छन् ।