निर्वाचन आयोग, फाइल तस्वीर
काठमाडौं — प्रतिनिधिसभाको रिक्त सदस्य पदका लागि २०८० साल वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदैछ । निर्वाचन आयोगले आज अपरान्हमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने भएको हो ।

उपनिर्वाचनमा आफ्नो उम्मेदवारी दिएका उम्मेदवारहरुले आज बिहीबार दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता चाहने उम्मेदवारका लागि निर्वाचन आयोगले समयसीमा तोकेको छ । उम्मेदवारी दर्ता गराएकाहरु मध्ये उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिए वा कसैले पनि फिर्ता नलिए पनि निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेपछि आजै उनीहरुलाई चुनाव चिह्न वितरण गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले उम्मेदवारहरुलाई चुनाव चिह्न दिएपछि उपनिर्वाचनको प्रसारप्रसार कार्यक्रमले औपचारिकता पाउनेछ । भोलिबाट उम्मेदवारहरुले आफ्नो प्रचारप्रसार गर्न पाउनेछन् ।

प्रतिनिधिसभा सदस्य पदको रिक्त स्थानका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २, तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा वैशाद १० गते आइतबार उपनिर्वाचन हुँदैछ । मतदाताले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाउने गरी निर्वाचन आयोगले व्यवस्था मिलाएको छ । आयोगले यस अघि नै उम्मेदवारी दर्ता, उम्मेदवारको दावी विरोध, मनोनयन फिर्ता, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेदेखि मतदान गर्नेसम्मको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।