काठमाडौं — सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा बढी ४ सय ४० रुपैयाँ भाडा घटेको हो । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५ सय १० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ तिरे पुग्ने भएको छ ।
काठमाडौँबाट हुने माउन्टेन फ्लाइटमा ३ सय ४५ रुपैयाँले भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ । काठमाडौँबाट भद्रपुरका लागि ३ सय रुपैयाँ भाडा घटेको छ । विराटनगरलाई २ सय ४०, जनकपुरका लागि १ सय ३०, भरतपुरका लागि १ सय ५ र पोखराका लागि १ सय ५५ रुपैयाँ हवाई भाडा घटेको छ ।
काठमाडौँबाट भैरहवा उडानको भाडा २ सय ५ रुपैयाँले घटेर ३ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ । नेपालगञ्जमा ३ सय २५, तुम्लिङटारका लागि १ सय ८५, सिमराका लागि ९० रुपैयाँ, सुर्खेतका लागि ३ सय ४५ र राजविराजका लागि २ सय ५ रुपैयाँ भाडा घटेको छ । यो भाडादर आज बुधबारदेखि लागू हुनेछ ।
