फाइल तस्वीर
बैतडी — बैतडीका तीन युवती बेपत्ता भएका छन् । बैतडीको मेलौली नगरपालिकाका दुई र पाटन नगरपालिकाकी एक गरी तीन युवती बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार ती युवतीहरु बेपत्ता भएकाले खोजी कार्य जारी रहेको छ ।
मेलौली–१ सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहीन हुनुभएको हो । सोमबार बिहान ३ बजेतिर १ वर्षीय छोरा कोठामा एक्लै रुँदै गरेको भेटिएको र लक्ष्मी कोठमा नभेटिएको उहाँका देवर निराजन पोखरेलले बताउनुभयो । भाउजू सम्पर्कविहीन भएपछि खोजीका लागि तस्वदेही इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको छ । सम्पर्कविहीन हुनुभएकी लक्ष्मीका श्रीमान् राजेन्द्र पोखरेल रोजगारीको सिलसिलामा भारतको बेङ्गलोरमा हुनुहुन्छ । उक्त दम्पतिका दुई छोरा छन् ।
यस्तै मेलौली नगरपालिका –१ जर्कु सैनी निवासी २० वर्षीया पार्वती खत्री नायक गएको छ दिनदेखि बेपत्ता हुनुभएको छ । यही चैत १६ गते घरबाट हिँड्नु भएकी उहाँ अहिलेसम्म सम्पर्कमा नआएको जनाइएको छ । पार्वतीका श्रीमान् सागरसिंह नायक रोजगारीको सिलसिलामा मलेसियामा हुनुहुन्छ । पार्वतीलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई खबर गरिदिन आग्रह गरिएको छ ।
जिल्लाको पाटन नगरपालिका–४ जेउड्याकी १५ वर्षीया गोमती लाबड पनि छ दिनदेखि बेपत्ता हुनुहुन्छ । यही चैत १५ गतेदेखि छोरी सम्पर्कविहीन भएकी गोमतीका बुबा दिलीप लाबडले जानकारी दिनुभयो । चैत १५ गते देहिमाण्डौँ जात्रामा जान्छुु भनेर घरबाट हिँड्नुभएकी गोमती अहिलेसम्म घर फर्किनुभएको छैन ।