निर्वाचन आयोग, फाइल तस्वीर
काठमाडौं — निर्वाचन आयोगले २३ गते बिहीबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । आगामी २०८० साल वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नम्बर–२, तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ र बारा निर्वाचन क्षेत्र नम्बर–२ मा गरी उपनिर्वाचन हुनेभएकाले आयोगले आचारसंहिता लागू गर्नेभएको हो ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचनलाई लक्षित गरी चैत २३ गतेदेखि निर्वाचनको मतपरिणाम सार्वजनिक नहुँदासम्म आचारसंहिता लागू हुनेछ । निर्वाचन आचारसंहिता, २०७९ मा आचारसंहिता आयोगले तोकेको मितिदेखि तोकेको क्षेत्रमा लागू हुने व्यवस्था छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको पदाधिकारी बैठकले निर्णय गरेपछि आचारसंहिता लागू हुने जानकारी दिनुभयो ।
आचारसंहितामा राजनीतिक दल, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहका पदाधिकारी तथा सरकारी तथा अर्धसरकारी निकायले गर्न हुने र नहुने व्यवस्था गरिएका छन्। आचारसंहिता लागू भएपछि तीनै तहका सरकारले उपनिर्वाचन हुने क्षेत्रमा नयाँ विकासका योजना घोषणा, योजना शिलान्यासलगायतका गतिविधि गर्न पाइनेछैन ।