राष्ट्रपति रामचन्द्र पौडेल, फाइल तस्वीर

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल बिरामी भएर त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्नाहुनुभएको छ । हिजो शनिबार साँझ अचानक छाती तथा पेटको समस्याबाट ग्रस्त भएपछि राष्ट्रपति पौडेललाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

राष्ट्रपति पौडेललाई सघन चिकित्सकीय निगरानीमा राखी उपचार गरिएको छ । राष्ट्रपतिको पेट फुल्नुका साथै छातीमा पानी भरिएको र बढी असहज महसुस हुन थालेपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

शुक्रबार नयाँ मन्त्रीहरूलाई सपथ दिलाउनुपूर्व नै राष्ट्रपतिले स्वास्थ्यमा असहजता महसुस गर्नुभएको र तत्काल चिकित्सकद्वारा जाँच र आवश्यक इन्जेक्सन लिएको दुई घण्टा पछि शपथ ग्रहण गराउन उपस्थित हुनुभएको थियो ।

राष्ट्रपतिको स्वास्थ्य परीक्षण चिकित्सकहरुको सल्लाह अनुसार अस्पताल भर्ना गरिएको हो । राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिविवि शिक्षण अस्पतालको भिभिआइपी कक्ष ६०१ मा राखी सघन उपचार गराइएको अस्पतालले जनाएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकहरुले बताएका छन् । राष्ट्रपतिलाई सहज भएमा आजै अस्पतालबाट डिस्चार्ज गरिने बताइएको छ ।