रास्वपा उम्मेदवार घोषणा कार्यक्रम तस्वीर
काठमाडौं — सत्तागठबन्धन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आवामी वैशाख १० गते हुने तीन निर्वाचन क्षेत्रको उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ । काठमाडौंको महाराजगञ्जस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाले उपनिर्वाचन हुने तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवार नाम घोषणा गरेको हो ।
रास्वपाले काङ्ग्रेस परित्याग गरेका स्वर्णिम वाग्लेलाई तनहुँ निर्वाचन क्षेत्र १ मा, पार्टी अध्यक्ष रवि लामिछानेलाई साविक चितवन निर्वाचन क्षेत्र २ मा र बारा निर्वाचन क्षेत्र २ मा रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरेको छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा चितवन २ बाट अत्यधिक मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रवि लामिछानेको सांसद पद नागरिकता सम्बन्धी विवादका कारण सर्वोच्च अदालतले खारेज गरेपछि उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद पदमा उपनिर्वाचन हुन लागेको हो ।
यसैगरी तनहुँ १ बाट निर्वाचित काङ्ग्रेस सांसद् रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित जनता समाजवादीका सांसद रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपति दुई स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
रास्वपाले बारा २ का लागि उम्मेदवार बनाएका पूर्वप्रहरी अधिकृत रमेश खरेल गत निर्वाचनमा हाम्रो सुशासन पार्टीको नामबाट काठमाडौं निर्वाचन क्षेत्र १ बाट पराजित भएका हुन् ।
बारा २ मा उठ्न लागेका रमेश खरेल भने गत मंसिरको चुनावमा हाम्रो सुशासन पार्टीबाट काठमाडौं १ मा उठेका थिए । खरेल पार्टी परिवर्तन गरेर अहिले रास्वपाबाट बारा २ मा उपनिर्वाचन लड्न लागेका हुन् ।