एमाले सचिवालय बैठक, फाइल तस्वीर


ललितपुर — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

जारी सचिवालयको बैठकमा आगामी वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नम्बर २, तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र बारा निर्वाचन क्षेत्र नम्बर दुईमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गर्नेलगायत समसामयिक विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्यमा यी तीन वटा स्थानबाट निर्वाचत भएका सांसदमध्ये तनहुँ १ का सांसद् रामचन्द्र पौडेल राष्ट्रपति र बारा १ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि उक्त क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद पद रिक्त भएका हुन् ।

यसैगरी चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने नागरिकता प्रकरणमा दोषी देखिएपछि उहाँको सांसद् पद सर्वोच्च अदालतको फैसलाबाट खारेज भएपछि उक्त क्षेत्रमा पनि उपनिर्वाचन हुन लागेको हो ।