नवनियुक्त श्रम, रोजगार मन्त्रीशरतसिंह भण्डारी पदभार ग्रहण गर्नुहुँदै


काठमाडौं — नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पद तथा गोपनीयताको शपथ दिएपछि सिंहदबारस्थित मन्त्रालयमा पुगेर पदवहाली गर्दै मन्त्री भण्डारीले प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्री भण्डारीले स्वदेश मै रोजगार सिर्जना तथा वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाइने दावी गर्नुभयो । मुलुकको समृद्धिका लागि श्रम मन्त्रालयले योगदान गर्न सक्ने गरी मन्त्रालयलाई सञ्चालन गरिने उहाँको भनाइ थियो ।

नवनियुक्त मन्त्री भण्डारीले अहिले मन्त्रालयले गरिरहेका सम्पूर्ण कामकारबाहीलाई पुनरावलोकन गरिने बताउनुहुँदै सीपयुक्त दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउन पहल गरिने उल्लेख गर्नुभयो । पदवहालीका क्रममा संक्षिप्त कुरा गर्दै मन्त्री भण्डारीले अभिमुखीकरण सेवा प्रदायक संस्थाका कामकारबाहीलाई थप प्रभावकारी बनाउन कार्यदल गठन गर्नेसम्बन्धी निर्णय गर्नुभएको छ ।