साङ्केतिक तस्वीर
काठमाडौं — नेपालमा एकसातादेखि कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन सय जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जना गरी कुल ४२ जनामा सङक्रमण पुष्टि भएको हो ।

आज बिहीबार मात्रै १७ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । हाल मुलुकभर गरी १२३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले आम नागरिकलाई सतर्क रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।