प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, फाइल तस्वीर


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धनको सरकार आगामी पाँच वर्षसम्मै टिक्ने दावी गर्नुभएको छ । आज बुधवार राजधानीमा आयोजित स्थानीय तहका न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो दावी गर्नुभएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकार फेरबदल भइरहँदा स्थानीय तहलाई समेत काम गर्न कठिनाइ हुने गरेको गुनासोप्रति लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार पुरा पाँच वर्षसम्मै टिक्नेमा ढुक्क हुन आग्रह गर्दै ‘कामनपा प्रमुख बालेन्द्र साहजीले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो, तर स्थानीय तहको निर्वाचनपछि सङ्घ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाई ढुक्क हुनुहोस्, यो सरकार पाँच वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ’— प्रधानमन्त्री प्रचण्डले विश्वास दिलाउनुभयो । प्रधानमन्त्री प्रचण्डले सरकार विस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने बताउनुभयो ।