रिपोर्टर्स क्लबमा पार्टी प्रवेश कार्यक्रममा कुसवाहा तस्वीर
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता शिवचन्द्रप्रसाद कुसवाह मातृपार्टी परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गर्नुभएको छ । काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेता कुसवाहले आफुले माओवादी केन्द्र परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेको घोषणा गर्नुभएको हो ।
पत्रकारमा सम्मेलनमा बोल्दे नेता कुसवाहले माओवादी पार्टीभित्र जालझेल गरेर आफूलाई माइनस गरिएकाले आफुले जनमत पार्टी रोजेको उल्लेख गर्नुभयो ।
आगामी वैशाख १० गते हुने बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा कुसवाहाले उम्मेदवारी दिने बताउनु भएको छ । कुसवाहालाई जनमत पार्टीले उम्मेदवार बनाउने भएको छ । पार्टीमा कुसवाहलाई स्वागत गर्दै जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले लोकतन्त्रको रक्षाका लागि शिवचन्द्र कुसवाहालाई उम्मेदवार बनाएको घोषणा गर्नुभएको थियो । ‘गठबन्धनले जालझेल गरिरहेको छ, त्यसलाई चिर्नका लागि जनमत पार्टीबाट शिवचन्द्र कुसवाहालाई उम्मेदवार बनाएका छौं’ अध्यक्ष राउतले पत्रकार सम्मेलनमा भन्नुभयो ।
अध्यक्ष राउतले अन्य साना वैकल्पिक शक्तिहरुले पनि जनमत पार्टीका उम्मेदवार कुसवाहालाई सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताउँदै आफ्नो पार्टीलाई मधेश प्रदेशको मुख्यमन्त्री र बारा –२ लाई एकसाथ जोडर हेर्न नहुने धारणा राख्नेभएको थियो । वैशाख १० गते हुने बारा–२ को निर्वाचन सत्य र असत्य बीचमा लडाई हुने जनमत पार्टीका अध्यक्ष राउतको भनाइ थियो ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रबाट कुसवाहा सोही निर्वाचन क्षेत्रमा उम्मेदवार बन्नुभएको थियो । त्यसबेला जनता समाजवादी पार्टीका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित हुनुभएको थियो । जसपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचत यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ ।
अब आफु उपनिर्वाचनको तयारीमा लाग्ने भन्दै जनमत पार्टीमा प्रवेश गर्नुभएका नेता कुसवाहाले सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट बन्न लाग्नुभएको जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्ने दावी गर्नुभएको छ ।