सेतो मच्छिन्द्रनाथको रथयात्रा, फाइल तस्वीर

काठमाडौं — सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु हुनेभएकोले आज बुधबारबाट रथयात्रा सुरु हुनलागेको हो ।


आज अपराह्न ४ बजे काठमाडौंको मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म मच्छिन्द्रनाथको रथयात्रा गराइने छ । रथयात्राका लागि सहजीकरण गर्न काठमाडौं महानगरपालिकाले रुट निर्धारण गरेको छ । महानगरले निर्धारण गरेको रथयात्राको रुटमा सबै किसिमका सवारी साधनलाई प्रवेश निषेध गरेको छ । महानगरले एक सूचना जारी गर्दै रथयात्राका बेला सवारी साधनलाई प्रवेश निषध गरको हो ।

चैत १५ गते रथलाई जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पु¥याइन्छ । त्यस्तै, चैत्र १६ गते असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका र १७ गते हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन पु¥याइन्छ ।

यसैगरी, चैत १८ गते लगन आमा रुख परिक्रमा, चैत १९ गते लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म पुर्‍याइन्छ ।

पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै सेतो मच्छिन्द्रनाथको रथयात्रा निकाल्ने गरिन्छ । मल्लकालीन राजा यज्ञ मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ ।