कम्युनिस्ट नेता मोहन वैद्य ‘किरण’ र धर्मेन्द्र बास्तोला फाइल तस्वीर
काठमाडौं — नेपाली कम्युनिस्ट आन्दोलन बेलाबेलामा जुट्ने र फुट्ने भइरहँदा साना तीन कम्युनिस्ट घटकहरु एकताको सङ्घारमा पुगेका छन् । चैत २१ गते तीन कम्युनिस्ट घटकहरुबीच एकता हुनलागेको हो ।
यसरी एकता हुनेमा कम्युनिस्ट पार्टीमा मोहन वैद्य ‘किरण’ ले नेतृत्व गर्नुभएको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोलाले नेतृत्व गर्नुभएको नेकपा (बहुमत) र मोहनविक्रम सिंह नेतृत्वको नेकपा(मसाल)बाट विद्रोह गरी सन्तबहादुर नेपालीको नेतृत्वमा गठन भएको नेकपा (मशाल) बीच एकता हुने भएको छ ।
काठमाडौंमा चैत २१ गते मङ्गलबार तीन वटै पाटी एकताभएको घोषण गरिने भएको छ । पार्टी एकतापछि तीन जना अध्यक्ष रहने अध्यक्ष मण्डलको व्यवस्था गरिनेछ । अध्यक्ष मण्डलको संयोजकमा मोहन वैद्य रहनुहुने बताइएको छ ।
यसअघि नै वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच एकता गर्ने सहमति भइसकेको थियो । गत साउन २० गते बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन संयोजन समिति समेत गठन गरी एकता प्रक्रिकाको गृहकार्य गरिएको थियो ।
त्यतिबेला नेताद्वय वैद्य र बास्तोलाले संयुक्त विज्ञप्ति नै जारी गरेर एकता प्रक्रियामा सामेल हुन पार्टीका नेता–कार्यकर्ता र सङ्गठनलाई आह्वान गर्नुभएको थियो । नेपालमा एक दर्जनभन्दा बढी कम्युनिस्ट घटकहरु छन् । नेपालमा कम्युनिस्टहरुको ६४ प्रतिशतभन्दा बढी पकड छ । तर सबै विभिन्न समूहमा विभाजन भएका कारण प्रजातान्त्रिक घटकहरु बलियो देखिन्छन् ।
सङ्घीय संसद र प्रदेशसभाको तथ्याङ्कलाई हेर्दापनि कम्युनिस्ट, वामपन्थी घटकहरुकै बाहुल्यता रहेको छ । विभिन्न समूहमा रहेका नेपालका कम्युनिस्ट पार्टीहरुलाई एकै ठाउँमा सङ्गठित गर्ने हो भने झण्डै दुई तिहाईको पकट नेपाली राजीनितमा देखिन सक्ने अवस्था छ ।