फाइल तस्वीर
काठमाडौं — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ । यस वर्ष कुल पाँच लाख १६ हजार ५९१ जना परीक्षार्थीले एसईई परीक्षा दिंदैछन् ।

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षको सबै तयारी पूरा भएको जनाएको छ । यस वर्षको कुल परीक्षार्थीमध्ये दुई लाख ६० हजार ६७४ जना छात्र र दुई लाख ५५ हजार ९१७ छात्राले एसईई परीक्षा दिँदैछन् । परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रहरुमा पठाइसकिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी गराउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ जना परीक्षार्थीहरु एसईईको परीक्षा दिनेभएका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी गराइएको परीक्षा नियन्त्रक श्रेष्ठले बताउनुभयो ।

यस वर्षको एसईई परीक्षाका लागि देशका सबै ७७ जिल्लामा दुई हजार ३६ वटा परीक्षा केन्द्र रहेका छन् । सबैभन्दा धेरै परीक्षार्थी बागमती प्रदेशका भएकाले परीक्षा केन्द्र पनि बागमती प्रदेशमै धेरै रहेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी गराउनुभयो । बागमती प्रदेशबाटमात्रै यस वर्षको एसईई परीक्षा दिने विद्यार्थीको सङ्ख्या एक लाख छ हजार ९५९ रहेका छन् । ती परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार सबैभन्दा थोरै परीक्षार्थी र परीक्षा केन्द्र रहेको प्रदेश कर्णाली प्रदेश हो । यो प्रदेशमा कुल ४१ हजार ३२९ परीक्षार्थी रहेका छन् भने परीक्षा केन्द्रको सङ्ख्या १७९ रहेको छ । देशभरको परीक्षालाई स्वच्छ र मर्यादित बनाउने व्यवस्था गरिएको नियन्त्रक श्रेष्ठको भनाइ छ ।