गठबन्धनको बैठक, फाइल तस्वीर
काठमाडौं — दश दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान नौ बजे गठबन्धनको बैठक बस्ने भएको हो । हिजो अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रालय बाँडफाँडलाई अन्तिम रुपदिन बसेको बैठक निष्कर्षविहिन हुन पुगेको थियो । अहिले बिहान बस्ने बैठकमा मन्त्रालयमा सहमति जुटाउने र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने प्रयास हुने गठबन्धनका एक नेताले बताए ।
हिजो बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गर्दै सबैको साय सुझाव माग्नुभएको छ । उक्त मस्यौदामाथि अहिले बस्ने बैठकमा नेताहरुका आ–आफ्ना राय सुझाव प्रस्तुत गरिने र त्यसपछि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने बताइएको छ ।
सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुपदिएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल गरिनेभएको छ । हिजोको बैठकमा मन्त्रालय बाँडफाँडमा दलहरुबीच सहमति जुट्न नसक्दा आज गर्ने अपेक्षा गरिएको मन्त्रिपरिषद् विस्तार पनि नहुने भएको छ । मन्त्रालय बाँडफाँडमा नेपाली काङ्ग्रेसले नौ, नेकपा एकीकृत समाजवादी र जसपाले तीन÷तीन र लोसपाले दुई मन्त्रालय पाउनु पर्ने अडान लिएपछि हिजोको बैठक निष्कर्षविहिन भएको थियो ।
आज बिहान नौ बजे बस्ने गठबन्धन बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुपम दिने र मन्त्रालय बाँडफाँडमा सहमति जुरे भरेसम्ममा मन्त्रिपरिषद् विस्तार हुने सम्भावना पनि रहेको नेताहरुको भनाइ छ ।