सत्ता गठबन्धन दलको बैठक, फाइल तस्वीर
काठमाडौं — सत्ता गठबन्धन दलको बैठक विना निष्कर्ष सकिएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने विषयलाई तार्किक निष्कर्षमा पुरयाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह चार बजे बसेको बैठकमा सहमति जुट्न नसक्दा निष्कर्षविहन बन्न पुगेको हो ।

गठबन्धनका ठूला—साना सबै दललाई आफुले चाहेअनुसारको राम्रा मन्त्रालय चाहिने दावी गरिरहँदा सहमति जुट्न सकेन । मन्त्रीको विषयमा भागबण्डा नमिलेपछि बालुवाटार बैठक निष्कर्षविहीन बनेको छ । मन्त्रालयको सङ्ख्या र मालदार मन्त्रालयमा प्रायःसबै दलका नेताहरुले आँखा लगाएकै कारण सहमति जुट्न नसकेको एक नेताले बताए ।

सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाई हुँदै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि निरन्तर छलफल गर्दै आए पनि सहमति जुट्न सकेको छैन् । देशको नाजुक बन्दै गएको आर्थिकस्थित अवस्था र जनतालाई सुशासनको प्रत्याभूति दिनुपर्नेमा दल र नेताहरु स्वार्थमा केन्द्रीत हुँदा देशको शासन व्यवस्था र दलहरुप्रति जनताको वितृष्णा मौलाउँदै गएको छ ।

एक महिनादेखि अधिकांश मन्त्रालयहरु मन्त्रीविहिनको अवस्थामा छन् । प्रधानमन्त्रीको काँधमा बोक्नै नसक्नेगरी १५ वटा मन्त्रालयको भारीछ । गठबन्धनका दलहरु सरकारलाई पूर्णता दिनेभन्दा सहमतिको खोजिगर्ने नाममा देशलाई ‘बन्दी’ बनाउने काम गर्दैछन् । मिलेर सरकार बनाउनु पर्ने अवस्थामा मन्त्रालय भागबण्डामै तानातान गरिरहेका छन् । राजनीतिक दलका नेताहरुले अकर्मण्यता देखाइरहेका छन् ।

खालिरहेका १५ मन्त्रालयमध्ये काङ्ग्रेसको दावी नौ वटामा छ भने एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले तीन÷तीन मन्त्रालयमा दावी गरेका छन् । जनता समाजवादी पार्टीले पनि तीन मन्त्रालयमै दावी गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले पनि तीन÷तीनवटा मन्त्रालयको माग गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले पनि दुई मन्त्रालय मागेको छ । यी त भए मन्त्रालय माग गरिएको सङ्ख्या । प्रायः सबै दलको आँखा अर्थ, गृह, परराष्ट्र, भौतिक योजना, उर्जा, उद्योग वाणिज्य, शिक्षा, खानेपानीजस्ता धेरै बजेट भएका मन्त्रालयहरु परेको छ ।

प्रधानमन्त्रीलाई गठबन्धनका सबै दलले माग गरेअनुसार मन्त्रालय भागबण्डा गर्न सकस भैरहेको छ । जसपासहित अन्य साना दलले पाउने मन्त्रालयमा पनि सहमति जुट्न सकेको छैन । गठबन्धन दलहरुको भागबण्डा नमिलेका कारण सरकारलाई पूर्णता दिन अझै समयलाग्ने देखिन्छ ।

आज बालुवाटारमा बसेको गठबन्धनको बैठकलाई निरन्तता दिंदै सहमति जुटाउने नाममा भोलि बुधबार बिहान ९ बजे पुनः बैठक बस्ने सहमति गरेर बैठक सकिएको छ । दलहरुको यही हठ कायम रहने हो भने भोलि बिहानको बैठकबाट पनि सहमति जुट्न सक्ने देखिंदैन । प्रधानमन्त्रीले भन्नुभएजस्तो छिट्टै सरकारलाई पूर्णता दिने कुरा भ्याकुताको धार्नी भने जस्तै पो हुने हो कि !