नेपाल बार एसोसिएसन, फाइल तस्वीर
काठमाडौं — नेपाल बार एसोसिएसनले १५ दिनभित्र पूर्ण स्वचालित प्रणालीमार्फत् पेसी व्यवस्थापन प्रक्रिया अघि बढाउन माग गरेको छ । नेपाल बारले सर्वोच्च अदालतका कायममुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष यस्तो माग गरेको हो ।
कामु प्रधानन्यायाधीशसमक्ष आज मङ्गलबार नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वमा गएको टोलीले उक्त विषयमा ध्यानाकर्षण गराउँदै १५ दिनभित्र पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।
कामु प्रधानन्यायाधीशसँगको भेटपछि बारका अध्यक्ष घिमिरले पूर्ण स्वचालित प्रणालीमार्फत १५ दिनभित्र पेसी व्यवस्थापन प्रक्रिया अघि बढाउने विषयमा बारले ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।
भेटमा कामु प्रधानन्यायाधीश कार्कीले उक्त विषयवस्तु गम्भीर रहेको र एक हप्ताभित्र आफूले प्रक्रिया अघि बढाउने बताउनुभएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
गत फागुन १३ र १४ गते वीरगञ्जमा सम्पन्न बारको १५ औं राष्ट्रिय सम्मेलन तथा केन्द्रीय कार्यकारिणी परिषद्को ४८ औँ बैठकको निर्णयबमोजिम जारी घोषणापत्रमा पूर्ण स्वचालित प्रणालीमार्फत् पेसी व्यवस्थापन गर्न माग गरेको थियो ।
कामु प्रधानन्यायाधीश कार्कीको नेतृत्व र बारको संलग्नतामा न्यायपालिकामा हुनसक्ने विकृति, विसङ्गति, अनियमितता र भ्रष्टाचार एवं विचौलियाबाट हुनसक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायसहितको प्रतिवेदनको कार्यान्वयन गर्न र स्वतन्त्र न्यायपालिकाको रक्षार्थ लामो आन्दोलनसमेत गरेको बारले स्मरण गराएको छ ।