फाइल तस्वीर
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख १० गते हुने उपनिर्वाचनको तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । राप्रपा पदाधिकारीको आज सोमबार बसेको बैठकले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको हो ।
आगामी बैशाख १० गते तनहुँ निर्वाचन क्षेत्र नम्बर–१, चितवन निर्वाचन क्षेत्र नम्बर —२ र बारा निर्वाचन क्षेत्र नम्बर—२ पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ ।
बैठकले उपनिर्वाचन हुने तीनै स्थानका लागि कमाण्डरसमेत तोकेको छ । जसअनुसार चितवन –२ मा नेता विक्रम पाण्डे, तनहुँ १ मा नीलकण्ठ काफ्ले र बारा २ मा बुद्धिमान तामाङलाई कमाण्डरको जिम्मेवारी दिइएको छ ।
कमाण्डरहरुले तोकिएको निर्वाचन क्षेत्रमा आवश्यक छलफल गरेर उम्मेदवारको निर्णय गर्ने अधिकार दिइएको छ । उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ ।