नागरिक उड्डयनमन्त्री सुदन किराँती, फाइल तस्वीर
काठमाडौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देश बनाउन सजिलो नभएको खुलासा गर्नुभएको छ । मन्त्री किराँतीले ६२ औं रङ्गमञ्च दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो अभिव्यक्ति दिनुभएको हो ।

मन्त्री किराँतीको सो अवसरमा देश जहाँ छोयो त्यहीँ फाटेको छ, देशलाई सहि मार्गमा ल्याउन त्यति सजिलो नभएको जिकिर गर्नुभयो । मन्त्री किराँतीले मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको उल्लेख गर्नुभयो ।

‘देश जहाँ छोयो, त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन । १० वर्ष सांसद भएर जति बुझेको अनुभूति गरेको थिएँ, तर मन्त्री भएर कुर्सीमा आएरपछि जे देख्दैछु, देश अर्कै रहेछ’— मन्त्री किराँतीले भन्नुभयो ।

मन्त्री किराँतीले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अधिकांश समय देशकै बारेमा चिन्ता प्रकट गर्नुभयो । मन्त्री किराँतीले ‘आफू व्यक्तिको परीक्षामा भन्दा युगको परीक्षा चरणमा रहेकाले असफल हुने छुट नभएको भन्नुहुँदै आफू फेल भए युग र व्यवस्था नै फेल हुने ठोकुवा समेत गर्नुभयो ।