डा. प्रकाशशरण महत, फाइल तस्वीर
काठमाडौं — नेपाली काङ्ग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा पठाउन लागेकामध्ये पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलाई अर्थ मन्त्रालयको जिम्मोवारी दिनेगरी पठाउने भएको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिनुहुने डा.महतलाई अर्थमन्त्रीको जिम्मेवारी दिनेगरी पठाउन लागिएको हो ।
का«ग्रेस सभापति देउवाले यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत सहमत गराइसक्नुभएको बताइएको छ । देशको अर्थतन्त्र जरजर भएको अवस्थामा अर्थ मन्त्रालयको जिम्मेवारी डा. महतलाई दिएर अर्थतन्त्र सुधार गर्ने काङ्ग्रेसको भनाइ छ ।
गत फागुन १५ गते नेकपा एमाले सरकारबाट बाहिरिए पछि प्रधानमन्त्री प्रचण्डले नै अर्थ मन्त्रालयको जिम्मेवारी लिंदै आउनुभएको छ । त्यसोत यतिबेला प्रधानमन्त्री प्रचण्डको काँधमा १६ वटा मन्त्रालयहरु रहेका छन् ।
मन्त्रिमण्डल विस्तार गर्नेक्रममा प्रधानमन्त्रीले थप एक मन्त्रालय नेकपा माओवादी केन्द्रलाई लिने र बाँकी १५ वटा मन्त्रालय गठबन्धनका दलहरुलाई बाँड्ने योजनामा हुनुहुन्छ ।
प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय काङ्ग्रेसलाई दिने भएपछि सभापति देउवाले उक्त मन्त्रालयमा प्रवक्ता महतलाई पठाउने तयारी गर्नुभएको हो । यस सम्बन्धमा सभापति देउवाले पार्टीका नेताहरुलाई जानकारी गराइसक्नुभएको छ । सभापति देउवाले डा. महतलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा पठाउने तयारी गरेको प्रधानमन्त्री निकट स्रोत बताएको छ ।
अर्थ मन्त्रालयको जिम्मेवारीमा काङग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि आकांक्षी देखिनुभएता पनि अहिले उहाँ मौन बस्नुभएको छ । खड्का कै नेतृत्व नेपाली काङ्ग्रेसले आठ जना नेतालाई सरकारमा पठाउने तयारी गरेको छ । खड्कालाई उपप्रधानमन्त्री एवम् रक्षामन्त्रीमा बनाउने चर्चापनि भइरहेको छ । काङ्ग्रेसले ७ मन्त्रालय र एक राज्यमन्त्री पाउने अन्तिम समझदारी भएको छ ।