क्रिकेटर सन्दीप लामिछाने, फाइल तस्वीर

काठमाडौं — बालिका बलात्कारको मुद्दा खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम बहस आजका लागि स्थगित भएको छ । बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गर्नुभएका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको कारण आजको पेशी स्थगित भएको हो ।

काठमाडौं जिल्ला अदालतमा आज सोमबारका लागि तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनका कारण स्थगित भएको छ । सन्दीपको अर्को पेशी आगामी साताको सोमबारका लागि तोकिएको छ ।

सन्दीपविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत, काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो । उक्तमुद्दा न्यायाधीश घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उक्त आदेशपछि सन्दीप केही समय केन्द्रीय कारागारमा बन्दी जीवन विताएका थिए । तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई सशर्तसहित २० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी मुक्त भएका थिए ।

सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । उक्त दफाको उपदफा (३)को देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था उल्लेख छ । जसमा १८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदावी गरिएको छ ।

सन्दीपलाई विदेशमा जान रोक लगाउँदै सशर्त २० लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको थियो । उक्त आदेशविरुद्धमा सन्दीपले विदेश जान माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका थिए । सर्वोच्चले सन्दीपलाई विदेश जानका स्वीकृत प्रदान गरेको थियो । सर्वोच्चको आदेशलगतै सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा आवद्ध भई आईसीसी क्रिकेट प्रतियोगिता खेल्न विदेश गरेका थिए ।