गठबन्धनका शीर्ष तीन नेताहरु, फाइल तस्वीर
काठमाडौं — सरकारलाई पूर्णता दिने विषयलाई तार्किक निश्कर्षमा पुर्‍याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका मुख्य दल नेपाली काङ्ग्रेस र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग आज परामर्श गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाएकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बोलाएर परामर्श गर्नुभएको हो ।

मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा भोलि मङ्गलबार अपरान्ह ४ बजे गठबन्धनमा आवद्ध दलहरुबीच छलफल गर्न बैठक बोलाउने समझदारी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ । सत्तागठबन्धन आबद्ध दलहरु सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ । मन्त्रिपरिषद् विस्तार आजसम्म गरिने भनिए पनि दलहरुबीच सहमति हुनसकेको छैन । सत्ता गठबन्धनमा काङ्ग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दलहरु आबद्ध छन् ।