एयर इण्डिया, फाइल तस्वीर
काठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय विमान कम्पनी एयर इण्डियाका चालकहरुलाई नेपाल उडानमा प्रतिबन्धन लगाएको छ । मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आइरहेको नेपाल वायुसेवा निगमको जहाज र दिल्लीबाट काठमाडांै आइरहेको एयर इण्डियाको जहाज आकाशमा झण्डै ठोक्किएको घटनालाई प्राधिकरणले एयर इण्डियाका चालक दल प्रतिबन्ध लगाएको हो ।
प्राधिकरणले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टावरमा कार्यरत तीन जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई पनि कारवाही गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १९ हजार फिटमा रहेको एयर इण्डियाको विमान एक्कासी १५ हजार फिटमा झर्दा नेपाल वायुसेवा निगमको विमानसँग ठोकिने अवस्थामा पुगेको थियो । तीन सय फिट नजिकै रहेको निगमको विमानलाई एयर इण्डियाको विमानले झण्डै ठोक्न पुगेको थियो । निगमका चालक दलका सदस्यहरुको चलाखीले गर्दा सम्भावित ठूलो दुर्घटना टरेको थियो । सो घटनाबारे छानविन गर्न दुई सदस्यीय समिति गठन गरेर एयर इण्डियाका चालक दललाई तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टावरमा कार्यरत तीन जना एटीसीलाई कारवाही गरिएको हो ।

नेपाल नागरिक उड्डयनका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार १० गते शुक्रबार बिहान सवा ९ बजे सिमराको आकाशमा १९ हजार फिटमाथि होल्डमा रहेको एयर इण्डियाको जहाज एक्कासी १५ हजार फिटमा झरेर नेपाल वायुसेवा निगमकै जहाज होल्डमा रहेको उडान लाइनमा प्रवेश गरेपछि एयर इण्डियाका चालक दललाई थप कारवाहीका लागि भारतीय नागरिक उड्डयन कार्यालयको हवाई सुरक्षा विभागलाई पत्राचार गरेको छ । एउटै उचाईमा रहेको दुईवटा जहाजलाई एकै पटक उडान अनुमति दिइएको विषयमा अनुसन्धान गर्न विमानस्थल टावरमा कार्यरत तीन जना एटीसीलाई समेत कारवाही गरिएको प्रवक्ता निरौलाले बताउनुभयो ।

उक्त घटनाको छानविन समितिको प्रतिवेदन नआउँदासम्म तीन जना एटीसीले काम गर्न पाउने छैनन् । उनीहरु एक अर्थमा निलम्वनमा परेका छन् ।

दुई जहाज एकै ठाउँमा होल्ड गर्दा कम्तिमा पनि हजार मिटर उचाईको दूरी हुनुपर्ने प्रावधान रहेको प्रवक्ता निरौलाले बताउनुभयो । तर सोभन्दा कम दूरीमा दुई जहाज होल्ड भएपछि हवाई क्षेत्रको सेफ्टी र सेक्युरिटीप्रति सचेत हुँदै प्राधिकरणले उडान सुरक्षा उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याइरहेको निरौलाले बताउनुभयो ।

एयर इण्डियाको जहाज १५ हजार फिटमा आइसकेको जानकारी एटीसीले एक्कासी राडरमार्फत् पाएका थिए । दुईवटा जहाजको दूरी एकदम नजिक भएपछि निगमको जहाज चेतावनी प्रणालीले जहाज ठोक्किन सक्ने सूचना सम्प्रेषण गरेपछि नेपाल वायुसेवा निगमको विमान सात हजार फिटमा झरेको थियो । निगमको विमान यसरी झारिएपछि सम्भावित ठूलो दुर्घटना हुनबाट जोगिएको थियो । उक्त समय दुईवटै जहाजमा गरी ३५० यात्रुहरु सवार रहेको प्राधिकरणले जनाएको छ ।

यसअघि गत फागुन १५ गते पनि कतार एयरवेज र निगमकै जहाज पनि आकाशमै ठोक्किनबाट बचेका थिए । कतारको दोहाबाट काठमाडौं आउँदै गरेको कतार एयरवेज र निगमको विमान मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेका थिए । त्यसबेला आन्तरिक उडानमा रहेको बुद्ध एयरको जहाज पनि ति विमानसँग ठोकिनबाट जोगिएको प्राधिकरणले जनाएको छ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो एयर ट्राफिक, विमान कम्पनी र चालक दलको स–साना गल्ति कमजोरीले नेपाली आकाश पछिल्लो समय असुरक्षित बन्दै गएको छ ।