काठमाडौं — नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज नौ सय २१ जनामा गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण देखिएको छ । चैत १० गते एक हजार पाँच सय १४ जनामा गरिएको परीक्षणमा दुई र चैत ११ गते एक हजार दुई सय ७२ जनामा गरिएको परीक्षणमा तीनजनामा सङ्क्रमण देखिएको थियो । 

सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । आज सक्रिय सङ्क्रमितको सङ्ख्या ४२  पुगेका छन् । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल पनि देखिएको बताउनुभयो ।  मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।