फाइल तस्वीर
काठमाडौं — एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिविना जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इण्डियालाई पत्राचार गरेको छ । गत शुक्रबार नयाँ दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि बिनाअनुमति १९ हजार फिटमाथि उडान भरिरहेको एयर इण्डियाको जहाज अचानक १५ हजार फिटमा झरेको विषयलाई लिएर प्राधिकरणले पत्र पठाएको हो ।
गत शुक्रबार नयाँ दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि विनाअनुमति १९ हजार फिटमाथि उडान भरिरहेको एयर इण्डियाको जहाज अचानक १५ हजार फिटमा झरेको थियो । सोही समयमा मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो । लगत्तै नेपाल एयरलाइन्सको जहाजले उचाई लिएपछि सम्भावित दुर्घटना टरेको थियो ।
सोही विषयमा छानविन गरी कारबाही गरेको ब्यहोरा प्राधिकरणलाई पठाउने सन्देशसहित एयर इण्डियालाई पत्राचार गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । “एयर इण्डिया र नेपाल एयरलाइन्सबीच भएको उक्त घटनाको विषयमा छानविन गरी आवश्यक कारबाही गर्न र त्यसको जानकारी प्राधिकरणलाई गराउन भन्दै पत्राचार गरेका छौँ”, उहाँले भन्नुभयो ।
उक्त घटनाका सम्बन्धमा छानविन समिति गठन भएको र घटना भएको समयमा टावरमा रहेका एटिसीलाई ‘एक्टिभ पोजिसन’ मा रहेर काम गर्न रोक लगाइएको उहाँले जानकारी दिनुभयो ।