सन्दीप लामिछाने, फाइल तस्वीर
काठमाडौं — बालिका बलात्कारको आरोपित नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइको पेशी भोलि सोमबारका लागि तोकिएको छ । जिल्ला अदालत काठमाडौंमा सोमबार अन्तिम सुनुवाइको पेशी तोकिएको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताउनुभएको हो।

यसअघि शुक्रबार जाहेरवाला किशोरीले अन्तरिम राहत माग गर्दै दायर गरेको रिटमा सुनुवाइ गर्दै जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अन्तरिम राहत दिन नपर्ने आदेश गरेको छ । न्यायाधीश न्यौपानेको आदेशमा अन्तिम फैसलाकै क्रममा टुङ्गाृे लगाउन उचित हुने भन्दै तत्काल अन्तरिम राहत दिनु नपर्ने आदेश भएको छ ।

भोलि सोमबारको पेशीमा यसअघि सबै प्रक्रिया पूरा भइसकेको र सर्वोच्च अदालतले पनि फास्ट ट्रयाकमा सुनुवाइ गर्न भनेकाले अन्तिम सुनुवाई तत्काल टुङ्ग्याउने सम्भावना छ ।

लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिंदै उच्चले उनलाई काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान भने प्रतिबन्ध लगाउने आदेश गरेको थियो ।

उच्च अदालतले दिएको आदेशविरुद्ध दुवै पक्ष सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान लागेको प्रतिबन्ध फुकुवा गर्दै यो मुद्दा तत्काल टुङ्याउन जिल्ला अदालतलाई आदेश दिएको थियो । सर्वोच्चको आदेशसँगै सन्दीप दुवईमा क्रिकेट खेलेर फर्किएका थिए ।

सन्दीपविरुद्ध गत भदौमा एक किशोरीले जबरजस्ती करणीको आरोप लगाएकी थिइन् । आफ्नो खेल सकाएर स्वदेश फर्किने क्रममा सन्दीपलाई प्रहरीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो । सन्दीपलाई गिरफ्तार गरेर गौशाला प्रहरी चौकीमा राखेका बलात्करसम्बन्धमा प्रहरीले अनुसन्धान गरी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । पूर्पक्षका लागि केन्द्रीय कारागारमा राखिएका सन्दीललाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेशपछि उनी रिहा भएका थिए । सन्दीप अहिले पुनः नेपाली क्रिकेटको राष्ट्रिय टिममा आवद्ध भई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलिरहेका छन् ।