नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, फाइल तस्वीर
काठमाडौं — सत्तागठबन्धन दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साझा नीति र कार्यक्रम बनेपछि मात्रै सरकारले पूर्णता पाउने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकपछि आज सङ्घीय संसद् परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

सरकारलाई पूर्णता दिनेबारे सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिंदै एसका अध्यक्ष नेपाल गठबन्धनमा रहेका सबै दलले साझा नीति र कार्यक्रमका बारेमा छलफल भइरहेको बताउनुभयो ।

अध्यक्ष नेपालले साझा नीति तथा कार्यक्रमका आधारमा मन्त्रिपरिषद् विस्तार हुने दावी गर्नुभयो । ‘जब साझा नीति र कार्यक्रम बन्छ, तव त्यसैको आधारमा सरकारले पूर्णता पाउँछ’ नेता नेपालले भन्नुभयो ।

मन्त्रिपरिषद् विस्तारका बारेमा कुरा गर्दै नेता नेपालले आफुले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा परराष्ट्र र अर्थ मन्त्री समक्ष व्यक्तिलाई बनाउन सुझाएको बताउनु भयो । उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीलाई भनेको छु, अर्थ मन्त्री यस्तो व्यक्तिलाई दिनुहोस्, जसले देशको अर्थतन्त्रका समस्या राम्ररी बुझ्न सकेको छ। समस्याका कारण पत्ता लगाउन सक्दछ। समाधान दिन सक्छ ।’

एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पछि अधिकांश मन्त्रालयहरु मन्त्री विहिन भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँधमा एक महिनादेखि १६ मन्त्रालयको भारी बोक्नुभएको छ ।

गठबन्धनमा रहेका सबै दलहरुको आँखा मालदार मन्त्रालयमा भएकाले प्रधानमन्त्रीलाई सरकार विस्तार गर्न सकस भैरहेको छ । भोलि सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुने गठबन्धनका ठूला दलका नेताहरुले बताउँदै आएका छन् ।