माओवादी केन्द्र संसदीय दलका नेता तथा मन्त्री जोखबहादुर महरा, फाइल तस्वीर
दाङ — नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार धरापमा परेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले मुख्यमन्त्री लीला गिरीलाई आज राजीनामा बुझाएर सरकारबाट बाहिरिएसँगै धरापमा परेको हो ।

नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका तीनै जना नेताले आज आईतबार मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिनुभयो । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी हुनुहुन्थ्यो ।

नेकपा एमालेले केन्द्रीय सरकारलाई दिएको समर्थन फिर्तालिंदै सरकारबाट बाहिरिए पछि प्रदेश सरकारमा त्यसको प्रभाव परेको छ । लुम्बिनी प्रदेशमा अब नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेससहितको गठबन्धनमा नयाँ सरकार बन्ने बलियो सम्भावना देखिन्छ । एमालेका लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नेसम्भावन न्यून छ ।

उक्त प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्रीमा दावी गर्दै आएको थियो । अब बन्ने मुख्यमन्त्रीको होडमा माओवादी केन्द्रका जोखबहादुर महराको दावी हुने देखिन्छ । माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले आलोपालो मुख्यमन्त्री सम्हाल्ने अवस्था रहेको छ ।