निर्वाचन आयोग, फाइल तस्वीर
काठमाडौं — आगामी वैशाख १० गते हुने उपनिर्वाचनको प्रयोजनाका लागि निर्वाचन आयोगले तोकेको दल दर्ता गर्ने समय आजबाट सकिंदैछ । आयोगले पाँच दिनको समयसीमा तोकेर दल दर्ताका लागि तोकेको समय आज सकिन लागेको हो ।
आयोगले चैत ८ गतेदेखि आज चैत १२ गतेसम्म दल दर्ताको मिति तोकेको थियो । आयोगका अनुसार नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्नुपर्दछ ।
आयोगले तीन वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनको प्रयोजनका लागि चैत १६ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । आयोगको कार्यतालिका अनुसार चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान जनाएको छ ।
प्रतिनिधिसभा सदस्यको रिक्त स्थानमा आगामी वैशाख गते चितवन निर्वाचन क्षेत्र नम्बर २, बारा निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नेपाली नागरिकतासम्बन्धी मुद्दाले सांसद पद गुमेको थियो भने तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रिपति बन्नुभएपछि उक्त स्थान रिक्त भएको हो ।
यसैगरी बारा क्षेत्र नम्बर २ बाट निर्वाचित जनता समाजवादी पार्टी नेपालका सांसद् रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि उक्त स्थानमा पनि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले प्रत्यक्षतर्फका प्रतिनिधिसभा सदस्यमा रिक्त रहेका तीनवटै क्षेत्रमा एकैचोटि निर्वाचन गर्ने तयारी गरेको छ ।