फाइल तस्वीर
काठमाडौं — ‘यो रेडियो नेपाल हो, अब सुन्नुहोस् कृष्णा ताम्राकारबाट समाचार’ भनेर समाचार वाचन गर्नुहुने वरिष्ठ सञ्चारकर्मी एवम् रेडियो नेपालकी प्रथम समाचार वाचिका कृष्णा ताम्राकारको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगसँग सङ्घर्ष गर्दै आउनु भएको ८६ वर्षीया ताम्राकारको बिहीबार राति १० बजे बाँसवारीस्थित यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

मिठो स्वरकी र शुद्ध शब्द उच्चारणकी धनी कृष्णा २०१८ जेठमा नेपाल वायुसेवा निगमको जागिर छाडेर रेडियो संसारको यात्रामा लाग्नुभएको थियो । पत्रकारिता क्षेत्र उहाँको रुचिको क्षेत्र भएका कारण नेपाली राष्ट्रिय ध्वजावाहक कम्पनीको राम्रो जागिरलाई तिलान्जली दिंदै उहाँ सञ्चार क्षेत्रमा जसरी हाम्फाल्नु भयो, त्यसरी नै सञ्चार क्षेत्रमा एक खालको ख्याति कमाउन सफल हुनुभयो ।

रेडियो पुस्तामा पंक्षी संरक्षण तथा आँखा दान अभियानसमेत चलाउनु भएकी ताम्राकारका यी रेडियो कार्यक्रम अत्यन्त प्रभावकारी ठानिन्थे । सञ्चारकर्मी ताम्राकारका अघिल्लो पुस्तामात्र नभै उहाँपछिको पुस्तामा पनि उहाँ निकै पृय हुनुहुन्थ्यो ।