पाटन — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । आज बिहीबार ललितपुरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को राष्ट्रिय सम्मेलन तथा १७ औँ साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूति, सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदङ्गा वा आतङ्कको बीमा, साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिनेछ ।’

यस्तै प्रधानमन्त्री प्रचण्डले केन्द्र र प्रदेश तहमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न सङ्घ र प्रदेश तहमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने सरकारको प्रतिबद्धता छ ।’