फाइल तस्वीर

काठमाडौं — सत्ता गठबन्धनको दल लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ । सरकारमा प्रतिनिधित्व गर्ने, आगामी वैशाख १० गते हुने उपनिर्वाचन र देशको समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बिहीबार आज दिउँसो १ बज लोसपाको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट चैत ६ गते विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिन गठबन्धनका दलहरुबीच छलफल भैरहेको छ । प्रधानमन्त्रीले गठबन्धनमा रहेका सबै दललाई सरकारमा सहभागि गराउन प्रयास गरिरहँदा लोसपा पनि सरकारमा जान इच्छुक छ । लोसपाले सम्मानजनक रुपमा मन्त्रालयको बाँडफाँट भए लोसपा पनि सरकार जाने नेताहरुले बताएका छन् ।

यसैगरी लोसपाले वैशाख १० गते हुने उपनिर्वाचनमा विशेषगरी बारा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार उठाउन चाहेको छ । लोसपाले नवलकिशोर सिंहलाई उम्मेदवार बनाउन चाहेको छ । उक्त निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सांसद् रामसहायप्रयाद यादवलाई उपराष्ट्रपति बनाइएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभामा पस्नकै लागि उपराष्ट्रपतिमा रामसहायप्रयाद यादवलाई पठाइएको हो । त्यसैले उक्त निर्वाचन क्षेत्रमा उपेन्द्र यादवको दावी बलियो छ । गठबन्धनमा सहमति जुटेपनि नजुटे पनि उपेन्द्र यादवको उम्मेदवारी पर्ने सम्भावना बलियो छ ।

गठबन्धनमा रहेको दलहरु सरकारमा सामेल हुन मालदार मन्त्रालयको होडवाजीमा रहँदा प्रधानमन्त्रीलाई सकस परिरहेको छ । दलहरु सरकारमा पनि जान खोज्ने, तर मालदार मन्त्रालयमै कुरा नमिलेर सरकारलाई पूर्णता दिन ढिलाई हुने देखिएको छ ।

सङ्घमा सरकार विस्तारको विषयसँगै प्रदेश सरकारमा पनि किचलो उत्पन्न भएको छ । यही किचलोका कारण हिजो बुधबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने कार्यक्रम नेपाली काङ्ग्रेसकै सांसदहरुका कारण अन्तिम समयमा आएर प्रदेशसभाको बैठकमा भोलिसम्मका लागि स्थगित हुनपुग्यो ।

गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेस केन्द्रदेखि प्रदेशसम्मका सबै नियुक्तीहरु प्याकेजमै गर्न चाहेको छ । केन्द्रीय गठबन्धनको निर्णय अनुसार प्रदेशमा प्रभाव पर्ने हुँदा काङ्ग्रेस प्याकेजमै सहमति गर्न चाहेको छ ।

मधेसकेन्द्रीत दलहरुले पनि बारा निर्वाचन क्षेत्र २ को उपनिर्वाचनको उम्मेदवार र मालदार मन्त्रालयलाई प्रधानमन्त्री सहित गठबन्धनका ठूला दलसँग सौदावाजी गरिरहेका छन् ।

संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दलहरु देश र जनताको हितलाई भन्दापनि यतिबेला आफ्नो स्वार्थलाई केन्द्रमा राखेर गठबन्धनबीचमै पौठेवाजी गरिरहेका छन् । देशमा सुशासन, भ्रष्टचार उन्मुलन र विकास निर्माणप्रति ध्यान दिनुपर्नेमा मालदार मन्त्रालय लिएर सरकारमा जान सौदावाजी भैरहेको देखिन्छ । गठबन्धनमा रहेका हरेक दलले उपनिर्वाचन र मन्त्रालय भागभबण्डालाई मुख्य एजेण्डा बनाएका छन् ।