काठमाडौं — राष्ट्रियसभाको आजको बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन पेश भएको छ । समितिका सभापति मायाप्रसाद शर्माले ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन ०७८÷७९’ पेश गर्नुभएको हो ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुभएको थियो । त्यस्तै उहाँले सभाअन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यको नाम मनोनयन गरिएको बेहोरासमेत सदनलाई जानकारी गराउनुभएको थियो ।
शोक प्रस्ताव पारित
बैठकले संविधानसभा सदस्य गणेशप्रसाद विमलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
संविधानसभा सदस्य विमलीको यही चैत ७ मा ७४ वर्षको उमेरमा निधन भएको हो । उहाँ २०७० सालमा नेपाली काङ्ग्रेसका तर्फबाट संविधानसभा सदस्यका रुपमा निर्वाचित हुनुभएको थियो ।
राष्ट्रियसभाको अर्को बैठक यही चैत १२ गते आईतबार अपराह्न १ बजे बस्नेछ ।