रानी जमरा कुलरिया सिँचाई आयोजना, फाइल तस्वीर
भजनी — राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाई आयोजना निर्माणको समयावधी सकिन लाग्दा पनि आधा काम हुन सकेको छैन । आर्थिक वर्ष २०६८÷६९ मा सुरु भएको राष्ट्रिय गौरव अन्तर्गतको उक्त आयोजना निर्माण सुरु भएको एक दशकभन्दा बढी समय व्यतित हुँदा पनि आयोजना निर्माणले गतिलिन सकेको छैन ।

कूल ३८ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले सुरु भएको आयोजना निर्माणको म्याद आव २०८०÷८१ मा सकिँदैछ । आयोजना विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो ।

रानी, जमरा र कुलरिया गरी तीन खण्डमा काम भइरहेको आयोजनाको रानी र कुलरिया खण्डको कामको प्रगति सन्तोषजनक छैन । जमरा खण्डको कामले सुरुदेखि नै गति लिएको भए पनि रानी र कुलरिया क्षेत्रको कामबाट आयोजनाकै अधिकारी पनि सन्तुष्ट छैनन् ।

एउटै समयमा सुरु भएको कामको प्रगति हेर्दा रानीको १८ प्रतिशतमात्रै भएको छ भने कुलरिया खण्डमा २० प्रतिशत काम सम्पन्न भएको छ । सबैभन्दा बढी जमरा खण्डमा ६५ प्रतिशत काम सम्पन्न भएको आयोजनाका इञ्जिनियर प्रेम लासिवाको भनाइ छ । निर्माण कम्पनीको लापरबाहीका कारण काम सुस्त भएको आरोप लगाउँदै निर्धारित समयमा काम सम्पन्न नहुने उहाँको भनाइ छ ।

‘सबै क्षेत्रमा एकैसाथ काम सुरु भएको हो, एउटा कम्पनीले ६५ प्रतिशत काम पूरा हुँदा दुई कम्पनीको कामको प्रगति ज्यादै न्यून छ’, उहाँले भन्नुभयो, ‘हामीले ताकेता गरिरहेका छौं, तर निर्माण कम्पनीले काम गर्न सकेको छैन ।’

आयोजनाको काममा लागि तीन वटा निर्माण कम्पनीले ठेक्का पाएका छन् । जसअन्तर्गत रानी कुलोको ठेक्का गौरीशङ्कर निर्माण सेवा र जिभिभी भारतीय कम्पनीले संयुक्तरूपमा लिएका छन् । साथै जमराको ठेक्का रामेछाप निर्माण सेवा र कान्छाराम निर्माण सेवाले पाएका छन् भने कुलरिया खण्डमा हाइहिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ ।

दुई वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारणले काममा ढिलासुस्ती भएको र अहिले आर्थिक मन्दीका कारण काम गर्न समस्या भएको निर्माण कम्पनीहरुको दाबी छ ।

रामेछाप निर्माण सेवाका साइट इन्चार्ज छिरिङ शेर्पाले आयोजनाको काम सम्पन्न हुनसक्ने स्थिति नदेखिएको स्वीकार गर्नुभयो । “काम गर्दै आएका छौँ । सम्पन्न गर्नुपर्ने समय नजिकिँदै आएको छ । अझै करिब ३० प्रतिशतभनदा बढी काम बाँकी छ”, उहाँले भन्नुभयो, “काम गर्दै जाँदा आएका समस्याका कारण समयमा काम सक्न ढिलाइ भएको हो । कयौं ठाउँमा डिजाइन नै परिवर्तन गर्दै काम गर्नुपर्ने स्थिति काम गर्दै जाँदा आयो ।” कम्पनीले मरा कुलो क्षेत्रको संरचना निर्माणका लागि ५४ करोड रुपैयाँमा ठेक्का पाएको थियो ।

कुलरिया कुला क्षेत्रको कामको जिम्मा पाएको हाइहिमालय हाइड्रो कन्स्ट्रक्सनका साइट इन्चार्ज निर्भय रिसाल पनि सम्झौता म्यादभित्र काम सम्पन्न हुने सम्भावना नरहेको बताउनुहुन्छ । उहाँले काम ढिलो हुनुमा निर्माण कम्पनीको नभई आयोजना कार्यालयको दोष देखाउनुभयो ।

‘काम किन ढिलो भयो भनेर हामीलाई होइन, आयोजना कार्यालयलाई राम्रोसँग थाहा छ । हाम्रो कारणले काममा ढिलाइ भएको छैन’, उहाँले भन्नुभयो, ‘कामका बारेमा कति प्रगति निकै कम भएको छ । त्यसमा काम गर्ने वातावरण आयोजना कार्यालयले बनाउन नसकेकै कारण काम हुन नसकेको हो ।’

निर्माण व्यवसायीका कारण आयोजनाको काम धरापमा पर्ने चिन्ता रानी जमरा कुलरिया सिँचाइ प्रणाली जल उपभोक्ता मूल समितिको छ । समितिका अध्यक्ष कुमारराज शाहीले निर्माण कम्पनी जिम्मेवार नबन्दा आयोजनाको काम समयमा सम्पन्न हुनसक्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले आयोजनाले काम गर्न ताकेता गर्दा पनि ठेकेदार कम्पनीले आयोजनालाई नटेरेको आरोप लगाउनुभयो । ‘ठेकेदारले काम गर्दैन, आयोजना कार्यालयको निर्देशनको कार्यान्वयन हुँदैन । किसानले मूल समितिलाई आरोप लगाउँछन्’, अध्यक्ष शाहीले भन्नुभयो, ‘समस्या किसानलाई भएको छ । समयमा कुलोमा पानी ल्याउन पाएको छैन । समयमा खेती गर्न पाएको छैन ।’