फाइल तस्वीर
काठमाडौं — सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको नेल्सन मण्डेलाको संज्ञा दिनुभएको छ । देशमा जातीय मुक्ति आन्दोलनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेपालको नेल्सन मण्डेलाको संज्ञा दिनुभएको हो ।
मन्त्री मोदीले आज मङ्गलबार ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस (२१ मार्च) को सन्दर्भमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दलित, जनजाति लगायतका उत्पीडित जातिहरूले संविधान बनाउने बेलामा माओवादीलाई बुझ्न नसकेको उल्लेख गर्नुभयो ।
मन्त्री मोदीले – ‘माओवादी आन्दोलनको कारणले आज बोल्न नसकेका दलितहरू बोल्न पाएका छन् । वास्तवमा समाजको विभेद अन्त्य गर्नको निम्ति माओवादी आन्दोलन थियो । जतिखेर माओवादी आन्दोलनको एउटा सूत्रधार संविधानसभामा संविधान कोर्ने बेला थियो त्यति बेला हामीले बुझ्न सकेनौं । अहिले ठूल्ठूला कुरा गर्दैछौं’ कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो ।
संविधानसभामा माओवादीले धेरै मत पाउन नसकेका कारण दलित, जनजाति लगायतका उत्पीडित जातिहरूले पर्याप्त हक, अधिकार नपाएको मन्त्री मोदीको जिकिर थियो ।