फाइल तस्वीर
काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्न नसकेको बताउनुभएको छ । बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज मङ्गलबार राष्ट्रपति भवन शीतल निवास पुगेका सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठमाडौंका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

भेटका अवसरमा राष्ट्रपति पौडेलले आगामी दिनमा राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्न सक्ने गरी धेरै काम गर्नु पर्ने उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले ग्रामीण क्षेत्रका गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्ने तथा निमुखालाई न्याय र विपन्नलाई आयको वातावरण मिलाउनुपर्नेमा जोडदिनुहुँदै सामाजिक लोकतन्त्र अध्ययन केन्द्रलाई नेपाली समाज, संस्था र राजनीतिक दलको लोकतान्त्रिकरणमा प्रभावकारी भूमिका निर्वाह गर्न समेत आग्रह गर्नुभएको छ ।