साङ्केतिक तस्वीर
खलङ्गा —उपचारका लागि अस्पताल भर्ना भएका एक बिरामी खोलामा मृत अवस्थामा फेला परेका छन् । जुम्लाको खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका ति बिरामी मृत फेला परेका हुन् ।
जिल्लाको तातोपानी गाउँपालिका–५ लाम्रा घर भएका करिव ७० वर्षीय लालु नेपाली दमको उपचारको लागि उक्त स्वास्थ्य प्रतिष्ठान आएका थिए । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बिरामी लालु प्रतिष्ठानको कार्यालय अगाडि रहेको जुगार्ड खोलामा मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार उनी उपचारको लागि चैत ४ गते उक्त अस्पतालमा आएका थिए ।
दमका बिरामी लालु चैत ५ गते राति करिब १२ बजेको समयमा उक्त अस्पतालबाट बाहिर निस्केका र अस्पतालमा उनलाई कुर्न बसेकी बुहारी दुरपतिले खोज्दा नभेटेपछि बुहारीले नै प्रहरीलाई ससुरा हराएको जानकारी गराएकी थिइन ।
अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत भेटिनुमा अस्पताल प्रशासनको गम्भीर लापरबाही भएको लालुका परिवारको अरोप छ । उनीहरुले उक्त वर्डामा खटिएका स्वास्थ्यकर्मी तथा प्रतिष्ठानको मुल गेटमा खटिएका सुरक्षाकर्मीलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।
सोही राती नै घटनाकोबारे जानकारी प्राप्त भएपनि प्रहरीले सोमबार बिहान मात्रै हराएका बृद्ध बिरामीलाई खोज्ने क्रममा लालु नेपाली खेलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।