गठबन्धन दलको बैठक, फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो बसेको प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त गर्नुभए पछि सरकारलाई पूर्णता दिन आजदेखि गृहकार्य हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिइसकेकाले सरकारलाई पूर्णता दिन गठबन्धनमा आवद्ध दलहरू छलफल गर्न लागेका हुन् ।
हिजो संसदबाट विश्वासको मत पाउनुभए लगतै प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिंदै अब चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताउनुभएको थियो । प्रधानमन्त्रीले सरकारलाई पूर्णता दिन समर्थन दिएका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने बताउँदै जुन—जुन दलहरूबीच गठबन्धन भएको छ, सहमति भएको छ, गठबन्धनका सबै दल बसेर छलफल गरी २–४ दिनभित्रै सरकारलाई पूर्णता दिने जानकारी गराउनु भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र सरकारले छिटै पूर्णता पाउने भन्दै अब आराम ढङ्गले सरकारले सुशासन र विकासका कामलाई प्राथमिकताका साथ दु्रत गतिमा काम गर्ने दावि समेत गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत अन्य साना दलहरु सरकारमा सहभागि हुने बताइएको छ । सरकारमा नेपाली काङ्ग्रेसले सबैभन्दा धेरै मन्त्रालय पाउने छ ।
मन्त्रालय भागवण्डा मिलाउँदा काङ्ग्रेसको भागमा बढिमा ७ वटा, माओवादी केन्द्रको भागमा प्रधामन्त्रीसहित बढिमा ५ वटा, रास्वपाको भागमा बढिमा ३ वटा, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीको भागमा बढिमा २÷२ वटा र अन्य साना दलको भागमा १÷१ वटा मन्त्रालय पर्ने गरी गृहकार्य हुने बताइएको छ । गठबन्धनका दलहरु सबैले महत्वपूर्ण मन्त्रालयको आकाङ्क्षा देखाएका कारण मन्त्रालय भागवण्डा पेचिलो बन्ने देखिन्छ । गठबन्धन दलहरुबीच मन्त्रालयमा कुरा नमिल्दा सरकारले छिर्टै पूर्णता पाउला भन्न सक्ने अवस्था देखिंदैन ।