निर्वाचन आयोग, फाइल तस्वीर
काठमाडौं – निर्वाचन आयोगले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा रिक्त भएका स्थानको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो ।
प्रतिनिधिसभा सदस्यमा उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले १२ गते आईतबारसम्म निर्वाचन आयोगमा दल दर्ता गरिसक्नुपर्ने सूचनामा जनाइएको छ । आयोगले एक सूचना प्रकाशित गर्दै भोलि बुधबार ८ गतेदेखि १२ गते आईतबारसम्म दल दर्ताको मिति तोकिएको छ ।
विभिन्न कारणले रिक्त भएका प्रतिनिधिसभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो । प्रत्यक्ष तर्फबाट प्रतिनिधिसभा सदस्य रिक्त रहेका निर्वाचन क्षेत्रहरुमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १, बारा निर्वाचन क्षेत्र नम्बर २ र चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आगमी वैशाख १० गते उपनिर्वाचन हुने कार्यतालिका छ ।
तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति र बारा निर्वाचन क्षेत्र नम्बर २ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि ति निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद पद रिक्त रहन गएकोले उपनिर्वाचन हुन लागेको हो ।
यसैगरी चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएका कारण उहाँ सांसद पदमुक्त भएपछि उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको पद रिक्त हुन पुगेको थियो । यस निर्वाचन क्षेत्रको निर्वाचन आगामी वैशाख १० गते गर्ने गरी आयोगले पहिले नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको थियो ।
राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएका सांसदहरुको स्थान पनि रिक्त रहन आएकोले तीनै स्थानको निर्वाचन वैशाख १० गते गर्ने निर्वाचन आयोगले निणर्य गरेपछि उपनिर्वाचन हुनेमा भाग लिन चाहने दलहरुले आयोगमा दल दर्ता गर्न सूचना जारी गरेको हो ।
