फाइल तस्वीर

काठमाडौं – प्रत्येक वर्ष काठमाडौं उपत्यकामा मनाइने घोडे जात्रा पर्व विभिन्न कार्यक्रम आयोजना गरी मनाइदै छ । चैत्र कृष्ण औंसीका दिन मनाइने घोडे जात्रा आज मङ्गलबार औंसीको दिन विशेष कार्यक्रमको आयोजना गरी मनाइन लागिएको हो ।

टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको र पीडित स्थानीयवासीले विभिन्न उपाय लगाई त्यस गुरुमापा भन्ने राक्षसलाई मारिएको भन्ने जनश्रुति पाइन्छ । त्यही राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्छ भन्ने भय र त्रासले प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा पर्व मनाउन थालिएको बताइन्छ ।

गुरुमापा राक्षसको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने किम्वदन्ती अनुसार आजको दिन टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम गरी घोडा दौड कार्यक्रम गरिन्छ । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि राखिदिने प्रचलन छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने जनविश्वास उपत्यकावासीमा रहिआएको छ ।

यसै सेरोफेरोमा नेपाली सेनाले घोडेजात्राको दिन हरेक वर्ष टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतका विविध कार्यक्रमहरु देखाइने गरिन्छ ।

यसैगरी आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । घोडेजात्रा पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा हरेक वर्ष सार्वजनिक बिदा दिंदैआएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने घोडेजात्रा कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य विशिष्ट व्यक्तिहरुको पनि उपस्थिति रहने गर्दछ ।