काठमाडौं — निर्वाचन आयोगले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा पनि आउँदो १० वैशाखमै उपनिर्वाचन गर्ने निर्णय गरेको छ। यसअघि आयोगले १० वैशाखमा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । तनहुँ–१ बाट निर्वाचित नेपाली कांग्रेसका सासंद रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित जसपा सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुने तय भएको हो ।
चितवन–२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा सांसद पद गुमाएपछि उपनिर्वाचन हुने तय भइसकेको थियो । आयोगले यसअघि चितवन–२ का लागि सार्वजनिक गरेको कार्यतालिका अनुसार नै तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन गर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।
आयोगले यसअघि नै चैत १६ गते उपनिर्वाचन प्रयोजनका लागि आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरिसकेको छ । कार्यतालिका अनुसार चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ ।
उपनिर्वाचन भाग लिन चाहने राजनीतिक दलहरुलाई चैत ८ गते देखि चैत १२ गतेसम्म दल दर्ताको समय तोकिएको छ । नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्नुपर्ने आयोगका सहप्रवक्ता अर्यालले बताउनुभयो ।
हेर्नुहोस्, विज्ञप्ति :