प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट पुनः विश्वासको मत प्राप्त गर्नुभएसँगै अब सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु गर्ने बताउनु भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्तगरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा रहेका दलहरुसँग सरकार विस्तार गर्ने विषयमा भोलिबाटै छलफल थाल्ने बताउनु भएको हो ।
पत्रकारहरुको प्रश्नको जवाफ दिंदै ‘आज विश्वासको मत प्राप्त भएको छ । अब भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जुन जुन दलहरुबीच हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ, हामी सबै बसेर दुई÷चार दिन भित्रमै सबै टुङ्ग्याउने र काम गर्ने छौं’— प्रधानमन्त्रीले बताउनुभयो ।
शत प्रतिशत मत आउँछ भन्नुभएको थियो, आएन नि भन्ने पत्रकारहरुको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जति भयो, त्यो पर्याप्त रहेको भन्नुहँुदै ‘अब आरामसँग सरकार चल्छ । विकास निर्माणको कामले गति लिन्छ’– दावी गर्नुभयो ।
सोमबार प्रधानमन्त्री प्रचण्डले आज बसेको प्रतिनिधिसभाको बैठकबाट १७२ मतसहित विश्वासको मत प्राप्त गर्नुभएको छ । आफ्नै समर्थनमा दुई पुष १० गते प्रधानमन्त्री बन्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेकपा एमाले र राप्रपाले भने विश्वासको मत दिएनन् । फागुन १३ गते राप्रपा र फागुन १५ गते एमाले सरकारबाट बाहिरिंदै प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको थियो ।