बागलुङ — स्वास्थ्य कार्यालय बागलुङले सेवा प्रवाहको जानकारी र मासिक कार्ययोजनाको विषयमा सूचना प्रवाह गर्न मासिक ‘बुलेटिन’ प्रकाशन सुरु गरेको छ ।

कार्यालयका काम कारबाहीलाई खुला, पारदर्शी र प्रभावकारी बनाउन बुलेटिन प्रकाशन सुरु गरिएको कार्यालय प्रमुख प्रवीण शर्माले बताउनुभयो । ‘हाम्रो बुलेटिन सामान्य खर्चमा प्रकाशन हुन्छ, ई–बुलेटिन भएकाले कार्यालयको फेसबुक पेज र वेबसाइटमार्फत सबैको बीचमा पुर्र्‍याएका छौँ’, शर्माले भन्नुभयो, ‘कार्यालयको सूचना बोर्डमा एक प्रति टाँस गरेर कार्यालय आउनेका लागि जानकारी गराउने गरिएको छ ।’ बुलेटिनमा हरेक महिना स्वास्थ्य कार्यालयले सञ्चालन गरेका गतिविधि तथा स्थानीय तहले सञ्चालन गरेका स्वास्थ्यका मुख्य कार्यक्रमका बारेमा जानकारी समावेश गरिने शर्माले बताउनुभयो ।

स्वास्थ्यका हरेक जानकारीहरु बुलेटिनमा समावेश हुने भएकाले सबैका लागि प्रभावकारी बन्ने कार्यालयका क्षयकुष्ट निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो । आगामी महिनाको कार्ययोजनासमेत उल्लेख गरिने भएकाले सेवा लिन चाहने सर्वसाधारणका लागि पूर्वसूचनामा बुलेटिन महत्वपूर्ण हुने उहाँको बुझाइ छ ।

‘कार्यालयले के काम ग¥यो र अब के गर्दैछ भन्ने सम्पूर्ण जानकारी समावेश हुँदा बुझ्न र सेवा लिन÷दिन सहज हुन्छ’, उहाँले भन्नुभयो, ‘स्थानीय तहले कार्ययोजना बनाउनसमेत बुलेटिनले सहयोग गर्छ ।’ सूचनामूलक बुलेटिन मासिक रुपमा अनिवार्य प्रकाशन गरिने कार्यालयले जनाएको छ । बुलेटिनलाई आगामी दिनमा परिष्कृत गर्दै लैजाने शर्माको भनाइ छ ।