प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज हुने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिंदैहुनुहुन्छ । काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा आज सोमबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो ।
संसदको दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी(एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरुको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पुस २६ गते संसद्बाट विश्वासको मत प्राप्त गर्नुभएको थियो । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रधानमन्त्री प्रचण्डलाई २६८ जना सांसदले विश्वासको मत दिएका थिए । प्रधानमन्त्रीले संसदबाट यतिधेरै सांसदहरुको विश्वासको मत प्राप्त गरेको नेपाली राजनीतिमा सायदै होला ।
राष्ट्रपति पदको उम्मेदवारका सन्र्दभमा तत्कालीन सत्ता गठबन्धनमा दरार उत्पन्न भएपछि सरकारमा रहेको एमाले, रास्वपा र राप्रपा सरकारबााट बाहिएका र एमाले र राप्रपाले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको हो ।
सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिए पछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार प्रधानमन्त्रीले आज संसदमो विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्रीले विश्वासको मतका लागि न्यूनतम पनि १३८ मत प्राप्त गर्नुपर्ने हुन्छ ।
प्रधानमन्त्री प्रचण्डले आज संसदबाट विश्वास प्राप्त गर्नुहुने निश्चित प्रायः छ । प्रधानमन्त्रीलाई आफ्नै पार्टी नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीलगायत कम्तिमा दश दल र केही स्वतन्त्र सांसदहरुले विश्वासको मत दिनुहुनेछ ।
प्रधानमन्त्री प्रचण्डलाई नेपाली काङग्रेसका ८९ मध्ये ८६ जनाको मत, माओवादी केन्द्रका ३२ मध्ये ३१ जनाको मत, जनता समाजवादी पार्टी (जसपा)का १२ मध्ये १० जनाको मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० मध्ये १९ मत पाउनुहुने पक्का छ ।
यसैगरी नेकपा एकीकृत समाजवादीको १० मत, जनमत पार्टीको ६ मत, लोकतान्त्रिक समाजवादी पार्टीको ४ मत, नागरिक उन्मुक्ति पार्टीको ४ राष्ट्रिय जनमोर्चाको १ मतका साथै स्वतन्त्र सांसद प्रभु साह र अमरेश सिंहको २ मत प्राप्त गर्नुहुनेछ । यसरी हेर्दा प्रधानमन्त्री प्रचण्डले कम्तिमा पनि १७३ जनाको विश्वासको मत प्राप्त गर्नुहुने छ ।
नेपाली काङ्ग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको छ भने चन्द्र भण्डारी उपचारका लागि भारतमा र टेकबहादुर गुरुङमा निलम्बनमा पर्नुभएका कारण काङ्ग्रेसको तीन मत खस्दैन । यसैगरी माओवादी केन्द्रका वर्षमान पुन उपचारका लागि चीनमा हुनुहुन्छ भने जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित बन्नुभएको छ । रास्वपाका सभापति रवि लामिछाने सांसद पदबाट मुक्त भएका कारण उहाँले मत दिनपाउनुहुन्न ।
प्रधानमन्त्रीले पाउने विश्वासको मतमा यो ६ मत घटेर १७३ जनाको मात्र मत पाउनुहुने छ । एमाले र राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेछैन ।