काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुमाइसकेको जिकिर गर्नुभएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानले आज आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव वैद्यले राजनीतिमा विचित्रको ‘लिला’ देखाउन थालेकाले प्रधानमन्त्री प्रचण्डलाई नेपाली जनताले अब विश्वास गर्ने ठाउँ नरहेको जिकिर गर्नुभएको हो ।

महासचिव वैद्यले ओलीलाई खत्तम पार्छू भनेर लाग्ने, फेरि ओलीको शरणमा परेर सरकार बनाउने अनि टिकाउन नसकेर जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको आरोप समेत लगाउनुभयो ।

उहाँले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायतका सत्ता र त्यसका अवयवहरू ‘मरेको लास’जस्तै अवस्थामा पुगेको उल्लेख गर्दै नयाँ राज्य सत्ता निर्माणका लागि तयार रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

महासचिव वैद्यले वर्तमान राज्यसत्ता सञ्चालनका लागि काङ्ग्रेस असफल भइसकेको र कम्युनिस्ट नेताहरूलाई पनि जनताले विश्वास गर्ने अवस्था नरहेकाले भन्दै नयाँ राज्य व्यवस्था स्थापना गर्ने बलियो आधार बन्दै गएको उल्लेख गर्नुभयो । महासचिव वैद्यले मुलुकमा आर्थिक सङ्कट चुलिएको र त्यसलाई टालटुल पारेर अघि बढ्ने अवस्था नरहेको समेत स्पष्ट पार्नुभयो ।